मुग्लान पस्दा Pt 1

 बा’ले कान भित्रको तेल हल्लिने गरि दुई चड्कन हाने पछि बौलाएको छू म अहिले। त्यति बेला आफैले सुनाए “मैले १० कक्षामा हुँदा चुरोट पिउन सुरु गरेको” भनेर। मैले त १२ कटाउन लागि सके; त्यै पनि चुरोट तानेको नी थीइन, औंलामा च्यापेको मात्र के थिए, गोठ पछाडिको त्रिपाल हावाले उडायो; नदेख्नु पर्ने बा’ले देखे। अहिले बा बाहिर आमा सँग फत्फताउदै छन् “दोष तेरै हो; लुकाएर दश पाँच रुपे दिन्थीस नी बल्ल थाहा पाइस के खाँदो रैछ मोरा ले? डाँडा कटाएर होस्टल हाल्दिम भन्दा एक्लो छोरो म बाँच्न सक्दिन यसलाई पर राखेर भन्थिस, संगै राख यस नालायकलाई अब।” बा’को गडगडाहट रोकिने वाला थिएन, तर मन मनै मैले पनि आँटी सकेको थिए यसपटक, डाँडा म आफै काट्छु अब। एउटा फाटेको जिन्स, कटन पाइन्ट एउटा सर्ट अनि टीसर्ट, अनी त्यो कन्वर्स रेडी पारेको छु। कसले के भन्ला र सोच्ला म सोच्दै नसोची पल्टिए रात छिप्पिने पर्खाइ मा। प्लस टु पछि अष्ट्रेलिया जाने सपना अब दिल्ली पुगेर अड्किने भयो, मन नमजाले कुडियो, तर केही छैन, जे होला देखा जाएगा। त्यो रात खाना पनि खाइएन, सबै जना खाइवरी भात पचाउन निदाउदै थिए, मैले भान्सा बाट आमाले लुकाएर राखेको खर्च-पानी चोरे, स्कूलको ब्यागमा आफ्ना लुगा जुता कोचे अनी हिंडे रातलाई चिर्दै चुरोटको सर्‍को संगै घरलाई पछाडि छोड्दै। यात्रा कति बिकराल अनी रोमान्चक छ, मेरो यो दिमागलाई अझै थाहा छैन्। बस स्टप छेवैको चियापसलमा चिया सुर्की लगाउदै गर्दा मैले साहुनीलाई नियाले, म जस्ता हजारलाई दिनहु चिया पिलाउछिन होला, उनले चिया टेबलमा टकार्दै गर्दाको त्यो फुस्रो हासो बिर्सन नसकिने थियो। चिसो भुइको निद्रा नसकिदै चिया पाउरोटीको चटारोले उनलाई बेस्सरी गलाएको हुनुपर्छ, उनका आँखा कपास झै फ्वाक्क फुलेका छन्, ४-५ लालाबाला पक्कै पनि छन्, उनको ज्यान आफै बोल्दै छ, म आफैलाई बिरक्त लाग्यो, मैले मेरो नजर फेरे। कुनाको त्यो टेबलमा एउटी केटी किताब पढ्दै छ। चार बल्ल बज्नै आटेको छ, यति बिहान कहाँ हिंडेकी होलि? मैले आफै सँग प्रश्न गरे। कतै म जस्तै।।? अह हुन सक्दैन, हेर्दै चुरोट रक्सी पिउली जस्ती छैन, किताब पनि अङ्रेजी पढ्दै छ, चिया-पानी ट्रान्जिट हुनु पर्छ। उत्तर पनि मैले आफै बनाए। अरु केही ल्याउँ? साहुनीले मेरो ध्यान भंग गरिन्। ५ रुपे को चिया मा ५० मिनेट बसेर होला साहुनीले झर्को मान्दै सोधिन्। म हतार हतार चिया सक्न तर्फ लागे। अघिको त्यो केटी साहुनीलाई पैसा तिरेर आफ्नो बस तीर लागि मैले नी हिसाब मिलाए अनी लागे बस तिर। भैरहवा जाने बसमा त्यो केटी चढ्दा मन चसक्क भयो म पूर्व जाने बस चढे। पहिलो हेराइमा कोहि मन पर्दैन रे, त्यो केवल एक भ्रम हो रे!! मैले चित्त बुझाए। म चढेको बस गुड्दै गर्दा निमेष भरको लागि आँखा जुधेको थियो उ सँग, म ङिच्च परेर हास्न मात्र खोज्दै थिए हाम्रो नजर टुट्यो, पल भरमै नजिक अनी फेरि पराई अनी पूर्व-पस्चिम भयौ हामी। सायद उसले मलाई बिर्सिन्छे होला, बिर्सने गरि हेर्न त पाइन, उसको दिमागमा मैले झुक्किएर पनि बाटो काट्छु की नाई थाहा छैन्।