मुग्लान पस्दा Pt 2

 बसले बजार काट्दै जादा मैले धेरै कुराहरु पछाडि छोडिसकेको छु। खलेलाई सबै भन्दा अगाडी ड्राइवर छेवैको सिट मिलाउन घुस खुवाइ सकेको थिए मैले, देब्रे पट्टीको ऐना बाट हेर्दा मैले मेरो गाउ-ठाउ अझै छिचोलेको छैन जस्तो लाग्यो एक फेर झ्यालबाट टाउको निकालेर पछाडि हेरे धेरै पर धकेली सकेको रहेछु मैले त्यो ठाउ। मैले फेरि ऐना हेरे, नजिकै देखिन्छ त, पछि थाहा पाए “Object in the mirror appear to be closer than they are”, सायद  समयको त्यो एक चेतावनी थियो होला, त्यो ठाउँ मलाई मीर्ग त्रिष्णा हुनेछ। एक सिधा धर्षो झै त्यो बाटो मैले धेरै बेर टोलाएर हेरी रहे। कालो लामो कपाल, सुलुत्त घाटी, छाला, आँखा, नाक, मुख घरि घरि झल्याक झुलुक देखिने त्यो अनुहार, सुन्दरता हेरेर बुझ्नु पर्छ, त्यहा हेराइ पर्याप्त थिएन, चाख्नै पर्ने थियो। ड्राइभरले झ्याप्प ब्रेक हान्दा म हुत्तिएर गाडीकोको ड्याश-बोर्ड मा पुगे। नमिट्ठो निदाइएछ, “कुन तरुनीको सपना देख्या होला भाइले मैले डिस्टर्ब गरे होला, माइन्ड नगर्नुस् ल, बोकोले बाटो काट्यो धन्न मरेन” गुरुबाले माफि मागे, मैले ठिकै छ, बरु एक छिनमा चुरोट ब्रेक मिलाउनुस् न भने, उसले मुन्टो हल्लायो। सपना पनि कस्तो देखेको, पाँच सेकेन्डको त्यो हेराइ मा मैले त्यो केटीलाई टिपी सकेको थिए, सपना भरी उसले मेरो बाटो काटी राखी, मैले निसंकोच अनुमति दिए। चिने-जानेका’को लागि घर छोडियो, नचिनेका’को लागि हृदयले बसाइ सर्दै थियो। बेला हो; मन, मस्तिष्क बन्धक बनाउन त्यति सजिलो कहाँ छ र, उडी दिन्छन् हावाको बह संगै। मैले निस्फिक्री छोडिदिएको थिए कुनै सुर्ता थिएन मलाइ, जहाँ अड्किन्छ त्यहि गएर फुकाउला। सुनसान भिरको खोचमा गुरुबाले गाडी साइड लगाए, यहि ओर्लिएर पिसाब फेर्नुहोला अन्त कतै रोकिन्न अब भन्दै गुरुबाले एउटा रुख च्यापे। केटा-केटी, बुढा-बुढी, बच्चा सबै ओर्लिए त्यो शु ब्रेक मा। बच्चाहरूले गाडी निरै मुत्र बिसर्जन गरे, पुरुषहरू अली पर लागे अनी महिला जति भिर भन्दा तल झाडी तीर लुके। एक दुइजना ट्यापेहरू त्यो ठुलो ढुङो माथी चढेर झाडी तीर चिहाउदै हाँस्दै थिए, कसैले केही भनेन, डरले हो या फेरि शायद तिनका कोहि आफ्ना चेलिबेटी नपरेर होला। साँच्चै हाम्रो समाजलाई आँखा चिम्म गर्ने बानी लागेछ, देखेर पनि देख्दैन हाम्रो समाजले, को बुद्धिजिवी को अनपढ गवार सबै सम्म छ यहा, जो जता लडिबुडी खेले नी हुने। लवाइ खवाइ हात हातमा मोबाइल फोन यति मात्रै हो त समाजको आधुनिकीकरण? मैले एक अन्तिम सर्को चुरोट तानेर ठुटो मिल्काए। शु ब्रेक अझै सकिएको थिएन म ड्राइभर नजिक गएर कुरा गर्न खोजे, गुरुबाले प्रश्न तेर्साए “कहा सम्म पुग्ने हो भाइ?” म सँग जवाफ थिएन जहाँ सम्म यो गाडी पुग्छ त्यहि पुग्ने हो भने। गुरुबाले मलाई तल देखि माथी सम्म नियाले, मेरो टाटेपाटे अनुहारको अनिस्चितता उनी प्रष्ट देख्न सक्थे। केही भन्न खोज्दै थिए उनी, मैले म भागेर आएको घरबाट मलाई पूर्व पुग्नु छ भने। त्यतिकैमा शु ब्रेक सकियो, खाना खाने बेला तिमी सँग राम्ररी कुरा गर्छु म भन्दै उनले आँखा च्याते, किन हो कुन्नी मलाइ खुशी लाग्यो, यो यात्रामा म अब एक्लो छैन होला। त्यस्पछि को यात्रा निकै मौन रह्यो, गुरुबाले गीत पनि बजाएनन्। पछाडिका यात्रुहरूको गाइगुइ म राम्ररी सुन्न सक्थे। तिनकी सासूले तीनलाई धेरै हेला गर्छिन रे, म बुहारी हुँ भनेर मैले कहीले पनि सासूको कु भलो चिताइन तर त्यो पापिनीले मलाई सूख सँग बस्न दीइन भन्दै उनी अर्की महिला यात्रु सँग कुरा काट्दै थीइन्; अर्की महीला आफ्नो देवरको बेली बिस्तार लगाउदै थीइन। हेर्नुस् भगवानले हेर्छन एक दिन भन्दै दुबै सुक्सुकाए। एक अर्काको दया बटुल्दै थिए दुबै जना; साहस, आँट, हिम्मत त्यहा पर पर सम्म पनि थिएन। कसैले कठै बिचरा भन्दिनु पर्छ हाम्रा नारीहरू त्यहि पग्लिन्छन्। दया, सहानुभुति, कठै बिचराले मानिसलाई दास बनाउछ, अझ हाम्रो जस्तो समाजमा प्रगतिको बाधक भनेकै अवांछित करुणा र फोस्रा सहानुभुति अनि आश्वाशन हुन।